काठमडौँ । डिभिजन वन कार्यालय चितवनले गत आर्थिक वर्षमा विभिन्न स्थानबाट ६९ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ। बस्ती तथा मानव बस्ती आसपासमा पुगेर समस्या सिर्जना गरेका वन्यजन्तुलाई उद्धार गरी आवश्यक व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार उद्धार गरिएका वन्यजन्तुमध्ये अजिङ्गरको संख्या सबैभन्दा बढी छ। एक वर्षको अवधिमा बस्तीमा पसेका ४५ वटा अजिङ्गर उद्धार गरिएको छ। यसैगरी, चार चित्तल, तीन रतुवा, तीन धामन सर्प, दुई गोही, दुई मयुर र दुई लाटोकोसेरोको उद्धार गरिएको छ। बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा र हुच्चिल एक–एक वटा उद्धार गरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न कारणले मृत्यु भएका ४२ वटा वन्यजन्तुको समेत व्यवस्थापन गरिएको थियो।
मृत अवस्थामा भेटिएका वन्यजन्तुमा ३० चित्तल, नौ रतुवा, दुई बँदेल र एक स्याल रहेका छन्। त्यस्तै, कार्यालयले अवैध काठ तस्करीमा प्रयोग गरिएका २६७ वटा साइकल लिलामी गरी दुई लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षमा भने कसुरजन्य मुद्दामा नियन्त्रणमा लिइएका तथा बेवारिसे अवस्थामा भेटिएका ८१ वटा मोटरसाइकल लिलामी गर्ने तयारी गरिएको छ। यसका अतिरिक्त २५ वटा बस, ट्रक, भ्यान, अटो तथा ट्याक्टर र ५९ वटा साइकलको समेत लिलामी प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए।