काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद आशिका तामाङ र सभामुख डोलप्रसाद अर्यालबीच सवाल–जवाफको अवस्था सिर्जना भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले थप स्पष्टीकरण माग्न समय मागेपछि विवादको अवस्था आएको हो।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद तामाङले केही दिनअघि आफूले उठाएका विषयमा परराष्ट्रमन्त्री खनालले दिएको जवाफप्रति चित्त नबुझेको बताउँदै थप प्रश्न गर्न खोजेकी थिइन्।तर सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लेख गर्दै निर्धारित समयभित्र थप प्रश्न गर्ने अवसर नरहेको जानकारी गराए।सभामुखले समय उपलब्ध नभएको बताएपछि सांसद तामाङले असन्तुष्टि जनाउँदै थप स्पष्टीकरणको माग गरिन्। त्यसक्रममा सभामुख र सांसद तामाङबीच भनाभनको अवस्था सिर्जना भएपछि सभामुख अर्यालले उनलाई संसदीय मर्यादामा रहन निर्देशन दिए।सभामुखले नियमावलीअनुसार बैठकको प्रक्रिया अघि बढाउनुपर्ने भन्दै थप प्रश्नका लागि समय दिन नसकिने स्पष्ट पारेका थिए।त्यसपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी थिइन्।