काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाको बैठकमा समसामयिक जनसरोकारका विभिन्न गम्भीर विषय उठाउँदै सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
मनसुनजन्य विपद्को चपेटामा परेका नागरिकहरूको उद्धार र राहतमा सरकार सुस्त देखिएको बताउँदै उनले जाजरकोट, रोल्पा, र बागलुङलगायतका क्षेत्रमा नागरिकहरूले सास्ती भोगिरहँदा मन्त्रीहरूले राज्यको स्रोत दुरुपयोग गरेको आरोप लगाए ।कर्णालीमा सर्वसाधारण सिटामोलसमेत नपाएर छट्पटाउँदा एक मन्त्री सामान्य रुघाखोकी लाग्दा हेलिकप्टर चढेर काठमाडौँ आउनु गैरजिम्मेवारपन भएको उल्लेख गर्दै उनले आम नागरिक र मन्त्रीको जीवनबीचको विभेदप्रति गम्भीर प्रश्न उठाए ।
त्यसैगरी, बजारमा ग्यास, मल र राहदानी पासपोर्ट का लागि लामो लाइन लाग्ने समस्या अझै नहटेकोप्रति आक्रोस पोख्दै उनले सरकारको दोहोरो नीति र अक्षमताको आलोचना गरे। देशको असंलग्न परराष्ट्र नीतिमा सरकार चुकेको बताउँदै उनले सुनसरी र सिराहामा देखिएका धार्मिक सद्भाव बिथोलिने घटनाहरूप्रति विशेष सचेतना अपनाउन आग्रह गरे ।संविधानको धारा ५ र २६ बमोजिम धर्मनिरपेक्षता तथा धार्मिक स्वतन्त्रतासम्बन्धी स्पष्ट कानुनी व्यवस्था गर्न सरकारलाई निर्देशनात्मक आदेश रुलिङ जारी गर्न उनले सभामुख समक्ष जोडदार माग गरे ।
देशको आर्थिक विकास र कूटनीतिक मामिलामा पनि सरकारको ध्यानाकर्षण गराउँदै सांसद पुनले वार्षिक ३० अर्बको विद्युत निर्यात गर्ने क्षमता बढे पनि हजारौँ मेगावाटको पीपीए अझै रोकिएको बताए ।भारतसँगको १० हजार मेगावाट विद्युत निर्यात सम्झौता कार्यान्वयनका लागि प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ थियो । यसका साथै, रोमानिया, सर्बिया र मोल्दोभा जस्ता देशहरूमा रहेका ठूलो संख्याका नेपाली कामदारहरूको समस्या समाधानका लागि ती देशहरूमा कूटनीतिक नियोग स्थापना गर्न माग गर्दै उनले यी सबै समसामयिक विषयमा सदनलाई चित्तबुझ्दो जवाफ दिन सरकारसँग आग्रह गरे ।