काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र संसद् जनताप्रति जवाफदेही हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले जनसरोकारका महत्वपूर्ण विषयमा सरकार प्रभावकारी बन्न नसकेको आरोप लगाए। उनले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जनताका सवाल र प्रश्नको स्पष्ट तथा दफावार जवाफ दिनुपर्ने माग गरे।विकास निर्माणका काममा अवरोध सिर्जना गर्ने झन्झटिला कानुनी प्रावधान हटाएर सर्वसाधारणले सहज रूपमा बुझ्न सक्ने सरल कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिए। साम्पाङले सुनसरी–१ सहित देशभरका विकास आयोजनाको ठेक्का प्रक्रिया कार्यविधिको बहाना बनाएर रोक्न नहुने भन्दै त्यस्ता प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह गरे। उनले सुनसरीको रामधुनी नगरपालिका–७ स्थित ६४ बिघा क्षेत्रको बस्ती भू–माफियाले आफ्नो नाममा पारेको आरोप लगाउँदै त्यहाँका पीडित बस्तीवासीलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराए। साम्पाङले जनताको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने र संसद्ले पनि जनताका आवाजलाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताए।