काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको सुशासन र प्राथमिकतामाथि प्रश्न उठाएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले नागरिकले सामान्य औषधिसमेत नपाउने, सुत्केरीले समयमै उपचार पाउन नसक्ने तथा कर्णालीमा औषधि र राहतको अभाव भइरहँदा सरकारले सुशासनको दाबी गर्नुको औचित्य नरहेको बताइन्। सरकारले मन्त्रीका लागि ठूलो रकम खर्च गरेर हेलिकप्टरमार्फत उद्धार गर्न सक्ने तर विपन्न नागरिकलाई सामान्य राहतसमेत उपलब्ध गराउन नसकेको उनको आरोप थियो। थापाले काठमाडौंमा मिनरल वाटर र जारको पानीमा अभ्यस्त मन्त्रीहरू कर्णाली पुग्दा पानी तथा खानपानका कारण समस्या देखिएपछि लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टरबाट काठमाडौं ल्याउने गरिएको भन्दै राज्यको प्राथमिकतामाथि प्रश्न उठाइन्।
उनले भनिन्, ‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्। काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ।’ मन्त्रीलाई काठमाडौं ल्याउन ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सरकारले विपन्न नागरिकका लागि तीन लाख रुपैयाँ खर्च गरेर राहत पुर्याउनसमेत नसकेको उनले बताइन्। ‘मन्त्री काठमाडौं ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने सरकारले तीन लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन,’ थापाले भनिन्। दैनिक गुजारा चलाउनसमेत कठिन अवस्थामा रहेका नागरिकलाई राज्यले एउटा ग्यास सिलिन्डरसम्म उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइन्।सरकारले एक्सप्रेसवे निर्माणलगायत ठूला विकास आयोजनाको कुरा गरिरहँदा कर्णालीका नागरिकले औषधि र आधारभूत राहतसमेत नपाउने अवस्था रहेको उल्लेख गर्दै थापाले सरकारको सुशासनको वास्तविक अवस्था यही हो भन्दै प्रश्न गरिन्।