कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री निवासमा भएको सत्ता साझेदार दलहरूबिचको छलफलपछि भोलि नै विश्वासको मत लिने गरी प्रक्रिया अघि बढाउने सहमति भएको हो। यसै विषयमा थप निर्णय र रणनीति तय गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाइएको छ।
गत शुक्रबार मुख्यमन्त्री पदमा नियुक्त भएका भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् । नयाँ सत्ता समीकरणअनुसार हाल प्रदेश सरकारमा नेकपा (एमाले) को तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब भने नेकपाका तर्फबाट थप तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी सरकारलाई पूर्णता दिने बताइएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम, विश्वासको मत र मन्त्रालय बाँडफाँटका विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीबिच संयुक्त छलफल भएको छ। त्यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबिचसमेत विश्वासको मत र सरकार सञ्चालनका विषयमा गहन परामर्श भएको थियो।