काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ।
आजको बैठकमा परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा कृषि, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। बैठकमा ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुने भएको छ। उक्त प्रस्ताव परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्तुत गर्नेछन्।
त्यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पनि बैठकमा पेस हुने कार्यसूची रहेको छ। यसैबीच, आजै संघीय संसद्का विभिन्न पाँचवटा संसदीय समितिको बैठकसमेत बस्ने कार्यक्रम छ। कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ।