सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आगामी भदौ ३ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेशसभा सचिवालयमा औपचारिक पत्र दर्ता गराएका छन् । प्रदेशसभा नियमावली, २०८१ को नियम १५१ मा भएको कानुनी व्यवस्थाअनुसार उहाँले विश्वासको मत लिने प्रक्रिया अघि बढाएको हो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार नियमावलीको प्रावधानअनुसार प्रस्तावमाथि छलफल हुने दिनभन्दा कम्तीमा दुई दिन अगावै सूचना दिनुपर्ने व्यवस्था बमोजिम पत्र दर्ता भएको छ। दर्ता भएको सूचना सभामुखसमक्ष पेस भएपछि सभामुखले निर्धारण गरेको दिन र समयमा मुख्यमन्त्रीले वक्तव्यसहित विश्वासको मतको प्रस्ताव प्रदेशसभामा पेस गर्नेछन् । त्यसपछि प्रस्तावमाथि संसद्मा छलफल र मतदानको प्रक्रिया अघि बढ्नेछ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरिरहँदा कर्णालीमा सत्ता साझेदार दलहरूबिच मन्त्रालय भागबन्डाको विषय भने अझै टुङ्गिसकेको छैन। मन्त्रालयको सङ्ख्या र जिम्मेवारी बाँडफाँटमा पूर्ण सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारसमेत प्रभावित भएको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ मत आवश्यक पर्नेमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले) को समीकरणसहित सत्तापक्षसँग २४ सांसदको समर्थन रहेकाले बहुमत सहजै पुग्ने देखिन्छ।