काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिमा नयाँ नेतृत्वको खोजी र योग्यता प्रणाली स्थापित गर्ने उद्देश्यका साथ ‘क्यान्डिडेट क्लब’को औपचारिक घोषणा गरेको छ। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच पार्टी सभापति रवि लामिछानेले क्लबको आधिकारिक लोगो सार्वजनिक गर्दै यस अवधारणाको सुरुवात गरेका हुन् । । कार्यक्रममा सभापति लामिछानेले रास्वपाले केवल राजनीतिक दस्तावेज, नारा र सिद्धान्तमा मात्र सीमित नरही व्यवहारमै फरक र सुधारिएको राजनीतिक अभ्यास अघि बढाउन खोजेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले कुनै पनि राजनीतिक दलको नीति, सिद्धान्त र आदर्श समाजमा पूर्ण रूपमा स्थापित हुन निश्चित समय लाग्ने बताएका छन् । चुनाव जितेर सरकारमा पुग्न वा संसद्मा ठूलो सङ्ख्या हासिल गर्न तुलनात्मक रूपमा सहज भए पनि एउटा परिपक्व राजनीतिक दलका रूपमा स्थापित हुन आवश्यक प्रक्रिया र चरणहरू पार गर्न समय लाग्ने बताए ।उनले दलले वैचारिक रूपमा स्पष्टता हासिल गर्दै आफ्ना विचारहरू आम नागरिकसम्म पुर्याउने क्रममा व्यवहारिक रूपान्तरण आवश्यक रहेको महसुस गरेर यो नयाँ अभ्यास थालिएको जनाए ।
सभापति लामिछानेका अनुसार ‘क्यान्डिडेट क्लब’ र सोसँग सम्बन्धित कानुनी निर्देशिकाको अवधारणाले राजनीतिमा योग्य, सक्षम र आवश्यक नेतृत्वको पहिचान गर्न मद्दत पुर्याउनेछ। राजनीतिमा चापलूसीभन्दा पनि क्षमता र योग्यताका आधारमा अवसर सिर्जना गर्ने विन्दुबारे सोचेर नै यो क्लबको निर्माण गरिएको उहाँले जानकारी दिए । यस पहलले आगामी दिनमा निष्पक्ष र क्षमतावान् उम्मेदवारहरू तयार गर्न तथा देशको राजनीतिलाई थप मर्यादित र उत्तरदायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पार्टीले लिएको छ।