विराटनगर । नेकपा औपचारिक रूपमा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ। नेकपा र नेकपा (एमाले) बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमतिअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नयाँ कार्यविभाजनअनुसार कोशी प्रदेशको मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री गरी ११ सदस्यीय बनेको छ।
नयाँ सत्ता समीकरणअनुसार नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन्। जसअनुसार नेकपाका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन, जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास, गीता तिम्सिनालाई सामाजिक विकास र खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै, नेकपाकै सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ।
सरकार विस्तारसँगै एमालेका केही पुराना मन्त्रीहरूको मन्त्रालयसमेत हेरफेर गरिएको छ। यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्री रहेका रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसैगरी, यसअघि आन्तरिक मामिला राज्यमन्त्री रहेका उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत् राखिएको छ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीले गरेको सिफारिसका आधारमा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राज्यमन्त्रीहरूलाई भने मुख्यमन्त्री कार्की स्वयंले शपथ गराएका हुन् । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै कोशी प्रदेशमा एमाले र नेकपाबीचको नयाँ सत्ता साझेदार यात्रा औपचारिक रूपमा सुरु भएको छ।
