काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठकमा सांसदहरूको उपस्थितिलाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन नयाँ नियम लागू गरेको छ। संसद् बैठकमा उपस्थित हुन नसक्ने वा उपस्थित भएर पनि बिचमै बाहिरिनुपर्ने अवस्थामा सांसदहरूले अनिवार्य रूपमा अनुपस्थिति फारम भर्नुपर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार संसद् बैठकमा पूरै समय उपस्थित हुन नसक्ने, बैठक सुरु भएको ३० मिनेटभन्दा ढिलो आउने, उपस्थित भएर बैठकको बिचमै बाहिरिनुपर्ने तथा बैठकको बिचमा केही समयका लागि बाहिर गएर पुनः फर्किनुपर्ने अवस्थामा अनिवार्य रूपमा फारम भरेर कारण खुलाउनुपर्नेछ। पार्टीले आफ्ना सबै सांसदहरूलाई यो निर्देशन पठाइसकेको बुर्लाकोटीले जानकारी दिएका छन् ।
प्रतिनिधिसभा लगायतका संसद् बैठकहरूमा पटक–पटक गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित हुने समस्या देखिएपछि रास्वपाले आफ्ना सांसदहरूको उपस्थितिमा कडाइ गर्न यो कदम चालेको हो। यस नियमले सांसदहरूलाई संसद्प्रति थप जिम्मेवार र जबाफदेही बनाउन मद्दत पुग्ने विश्वास पार्टीले लिएको छ।