काठमाडौँ । प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सभामुख डोलप्रसाद अर्यालले भदौ १० गतेको मिति र समय निर्धारण गरेको जनाएको छ। नियमावलीमा उल्लिखित प्रावधान कार्यान्वयन नभएको भन्दै संसद्मा निरन्तर प्रश्न उठिरहेका बेला सभामुखले उक्त कार्यक्रमको औपचारिक मिति तय गरेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ। यदि तोकिएको दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय प्रश्नोत्तरका लागि निर्धारण गर्नुपर्ने नियमावलीमा उल्लेख छ। साथै, नियमावलीको दफा ५७ अनुसार यो प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमहरूबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था छ।
नियमावलीको दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न सोध्न इच्छुक सांसदहरूले आफ्नो प्रश्नको विषयबारे बैठक प्रारम्भ हुनुभन्दा कम्तीमा तीन दिन अगावै सभामुखलाई लिखित रूपमा जानकारी गराउनुपर्नेछ। दफा ५९ अनुसार प्राप्त प्रश्नहरू स्वीकारयोग्य छन् या छैनन् भन्ने अन्तिम निर्णय सभामुखले गर्नेछन्। यस परिच्छेदअन्तर्गत दिइएका प्रश्न तथा जवाफका सम्बन्धमा संसद्मा कुनै थप छलफल नगरिने दफा ६० मा उल्लेख छ।