काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि चलिरहेको प्रतिनिधिसभाको अवरोध हटेको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएपछि विपक्षी दलहरू सदन सञ्चालन गर्न सहमत भएका हुन्।सोमबारको बैठक सुरु भएलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा दिएको भनाइप्रति आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै आएका थिए।प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको भन्दै विपक्षी दलहरूले लामो समयदेखि सदन अवरुद्ध गर्दै आएका थिए। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिनुपर्ने वा त्यसबारे संसदमा स्पष्ट धारणा राख्नुपर्ने माग गरेका थिए।
सोमबार पनि विपक्षी दलहरूले प्रधानमन्त्रीले विवादित अभिव्यक्तिबारे जवाफ दिनुपर्ने तथा प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने व्यवस्था नियमित गर्नुपर्ने माग दोहोर्याएका थिए।लगातारको विरोधपछि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीका नियम ५६, ५७, ५८ र ५९ बमोजिम प्रधानमन्त्रीलाई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरे।सभामुखको रुलिङपछि विपक्षी दलहरूले तत्कालका लागि आफ्नो विरोध कार्यक्रम स्थगित गरेका छन्। अब आगामी बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नसँगै आफ्नो विवादित भनाइबारे समेत स्पष्टीकरण दिने अपेक्षा गरिएको छ।यससँगै लामो समयदेखि प्रभावित हुँदै आएको प्रतिनिधिसभाको नियमित कार्यसूची अघि बढ्ने बाटो खुलेको छ।