काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनको बैठक आज बस्दै छ। अपराह्न १ बजे सिंहदरबारस्थित संसद् भवनमा सुरु हुने प्रतिनिधिसभाको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुका साथै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। यस्तै परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्ने छन् ।
अर्कोतर्फ, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमै बस्नेछ। राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।