काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापिित गगन थापाले बीपी कोइराला र गणेशमान सिंह जस्ता ऐतिहासिक नेताहरूलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने बताएका छन् । पछिल्लो समय राजनीतिक स्वार्थअनुसार बीपी कोइरालाको नाम र विचारलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै उनले त्यसतर्फ गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
आइतबार धर्म गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले राजनीतिक नेताहरूले आफ्नो अनुकूलता र आवश्यकता पर्दा मात्र बीपीको विचारलाई उद्धृत गर्ने गरेको उल्लेख गरे । राजनीतिक विषयमा प्रत्यक्ष रूपमा आफ्नो धारणा राख्ने हिम्मत नहुँदा बीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई सहारा बनाउने र मिसकोट गर्ने काम भइरहेको उनले बताए । बीपीका विचारलाई गलत ढङ्गले व्याख्या गर्दा इतिहासका जानकार र तत्कालीन अभियन्ताहरूले अगाडि आएर नयाँ पुस्तालाई वास्तविकताबारे प्रस्ट पार्नुपर्नेमा उनले जोड दिए ।
थापाले बीपी कोइरालाको राजनीतिक जीवन लामो र निरन्तर विकसित हुँदै गएको भए पनि लोकतन्त्र र सामाजिक न्यायप्रतिको उनको मूल प्रतिबद्धता कहिल्यै परिवर्तन नभएको स्पष्ट पारे । बीपीका विचारहरूलाई तत्कालीन राजनीतिक घटनाक्रम र समग्र सन्दर्भसँग जोडेर सही रूपमा बुझ्नुपर्ने बताउँदै उनले बीपी र गणेशमानको योगदानलाई कुनै व्यक्ति वा परिवारको स्वामित्वमा नराखी नयाँ पुस्तासम्म सही रूपमा पु¥याउनुपर्ने बताए । उक्त पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही र लेखक एवं पत्रकार सुचेता प्याकुरेलले समेत पुस्तकमाथि आफ्ना टिप्पणी र धारणा राखेका थिए ।