काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा हत्याकाण्डका शहीदहरूले देखेको समतामूलक, न्यायपूर्ण र समृद्ध नेपालको सपना पूरा गर्न क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
दोरम्बा हत्याकाण्ड स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले तत्कालीन शान्ति प्रक्रियाका क्रममा राज्य पक्षबाट पक्राउ गरी हत्या गरिएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले शहीदहरूको बलिदानकै आधारमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुका साथै समावेशी लोकतन्त्र संस्थागत भएको बताए। उनका अनुसार जनयुद्ध र जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिलाई संविधानमार्फत संस्थागत गरिए पनि जनअपेक्षाअनुसार सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको अनुभूति गराउन अझै सकिएको छैन। राजनीतिक परिवर्तनलाई सामाजिक तथा आर्थिक रूपान्तरणमा बदल्न नसक्दा जनतामा असन्तुष्टि र निराशा बढेको उनले बताए।
श्रेष्ठले भ्रष्टाचार, अनियमितता र दण्डहीनताविरुद्ध प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। जनताको दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने गरी राज्य सञ्चालन गर्नुपर्ने भन्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सामाजिक न्यायका क्षेत्रमा ठोस परिवर्तन आवश्यक रहेको बताए। राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रसमक्ष चुनौतीहरू रहेको दाबी गर्दै श्रेष्ठले ती उपलब्धिको संरक्षणका लागि देशभक्त, लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे। दोरम्बा हत्याकाण्डका शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली उनीहरूले देखाएको समाजवादउन्मुख, समृद्ध र न्यायपूर्ण नेपाल निर्माण गरेर मात्रै हुने उल्लेख गर्दै श्रेष्ठले त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट संघर्ष, समर्पण र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताए।