काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तन र पुनर्गठनको माग गर्दै अभियान चलाउनेहरूमाथि कडा टिप्पणी गरेका छन्। झापा एमालेको ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन गर्दै ओलीले सामाजिक सञ्जालमा स्टाटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास स्वीकार्य नहुने बताए।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भने। एमाले अहिले पुनर्गठनको अवस्थामा नभई ‘पुनर्जागरणको अवस्थामा’ रहेको उनको दाबी छ। नेतृत्व परिवर्तनलाई मात्र पार्टी पुनर्गठन भन्न नमिल्ने भन्दै ओलीले नीति, गन्तव्य र कार्यक्रम परिवर्तनलाई मात्र वास्तविक पुनर्गठनका रूपमा बुझ्नुपर्ने बताए।
आफ्नो नेतृत्वमाथि विगतमा पनि प्रश्न उठाइएको प्रसंग उल्लेख गर्दै ओलीले २०२९ देखि २०३२ सालसम्म आफूलाई सदस्यविहीन बनाइएको र २०७७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाए। उनले हरेकपटक आफूले पार्टी जोगाएको दाबी गरे।
ओलीले एमालेका केही सदस्य र नेताहरूमाथि पनि आक्रोश व्यक्त गरे। पार्टी सदस्यको संख्याभन्दा कम मत आएको भन्दै उनले पार्टीलाई मत नदिने सदस्यको नवीकरण नगर्न निर्देशन दिए। ‘हाम्रो पार्टीमा सदस्यभन्दा कम भोट आयो। सुन्दा लाज हुन्छ,’ ओलीले भने। पार्टीबाट सुविधा लिने तर पार्टीकै आलोचना गर्नेहरूलाई ओलीले ‘किर्ना’ को संज्ञा दिए। केही नेताहरूले एमालेलाई ‘भैंसी’ बनाउन खोजेको टिप्पणीसमेत उनले गरे।
आफूले पार्टीभित्र सबैको कुरा सुन्ने गरेको दाबी गर्दै ओलीले एमालेमा लोकतन्त्र जीवित रहेको बताए। कसैलाई हप्काएर नेता बेहोस बनाएको भन्ने प्रचार गलत भएको भन्दै उनले पार्टीमा कोही मालिक र कोही दास नभएको पनि स्पष्ट पारे।