काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतरपक्षको तीन दिने राष्ट्रिय भेला आज सम्पन्न भएको छ। राष्ट्रिय भेलाका रूपमा उद्घाटन गरिए पनि दोस्रो दिन यसलाई सम्मेलनमा रूपान्तरण गरिएको थियो। सम्मेलनको अन्तिम दिन आज यसका निष्कर्ष र निर्णयहरू सार्वजनिक गरिएको छ। सम्मेलनले गरेको निर्णयमा ‘पार्टीको आगामी १५ औं महाधिवेशन सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने’ उल्लेख गरिएको छ।
सम्मेलन व्यवस्थापन समितिका संयोजक दीपक कुइँकेलले ‘१४ औं महाधिवेशनबाट निर्मित जुन पार्टी सभापति शेरबहादुर दाइको नेतृत्वमा रहेको कार्यसमिति छ, त्यो केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा महाधिवेशन सम्पन्न हुनेछ।’ घोषणा गरे ।
यस निर्णय सुनाउँदै गर्दा केही शब्दमा नेता विमलेन्द्र निधिले आपत्ति जनाएका थिए भने अर्का नेता डा. प्रकाशशरण महत र निधिबीच भनाभन समेत भएको थियो। त्यस्तै, सम्मेलनले १५ औं महाधिवेशनसम्म पार्टीको नियमित क्रियाकलाप सभापति देउवाको निर्देशनमा राष्ट्रिय भेला÷सम्मेलन आयोजक समितिका संयोजकले नै संयोजन गर्दै जाने निर्णय गरेको छ। यसको अर्थ महाधिवेशनसम्म पूर्वमहामन्त्री शशांक कोइरालाले नै इतर पक्षको नेतृत्व गर्नेछन् भने उनलाई सभापति देउवाबाट आवश्यक निर्देशन प्राप्त हुनेछ।