काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्।
शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्य सत्कारलाई विश्व बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए। ‘पर्यटन देशको अर्थतन्त्रको मेरुदण्ड हो। अथाह प्राकृतिक सौन्दर्य, बहुमूल्य सांस्कृतिक सम्पदा र विश्वमै अद्वितीय मानिने हाम्रो आतिथ्य सत्कारले नेपाललाई विश्वसामु चिनाएको छ,’ उनले भने, ‘पर्यटन व्यवसायीहरूले यस क्षेत्रमा विशेष भूमिका निर्वाह गर्दै आएका छन्।’ पर्यटन व्यवसायीहरूले मुलुकका लागि राजदूतको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले नेपालको पर्यटन प्रवद्र्धनमा नाटाले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। सभामुख अर्यालले पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जनसँगै लाखौँ युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने ठूलो सम्भावना बोकेको बताए। राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन व्यवसायी तथा नाटामा आबद्ध संस्थाहरूले पुर्याउँदै आएको योगदान राष्ट्रिय विकासको महत्वपूर्ण हिस्सा रहेको उनको भनाइ थियो।