कैलाली । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार पुनर्गठन हुने भएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको संयुक्त गठबन्धनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष नेकपा संसदीय दलका नेता खगराज भट्टलाई नयाँ मुख्यमन्त्री बनाउनका लागि औपचारिक दाबी पेस गर्ने तयारी गरेका छन्।
बिहीबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुख मियाँले आज बिहान ११ बजेसम्म संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको थियो। सोही समयसीमाभित्र गठबन्धनका तर्फबाट बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरिँदै छ।
दाबी पेस भएसँगै आजै दिउँसो ३ बजे नयाँ मुख्यमन्त्रीका रूपमा खगराज भट्टलाई शपथ गराउने गरी प्रदेश प्रमुखको कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ। यससँगै भट्ट सुदूरपश्चिम प्रदेशको दोस्रो कार्यकालअन्तर्गत पाँचौँ मुख्यमन्त्री बन्ने भएका छन् ।