धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । बिहीबार साँझ मुख्यमन्त्री शाहले बुझाएको राजीनामा पत्र स्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले प्रदेशमा नयाँ सरकार गठनका लागि औपचारिक आह्वानसमेत गरेका छन् ।
मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएको छ। प्रदेश प्रमुख मियाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्रीको दाबी पेस गर्न दलहरूलाई शुक्रबार बिहान ११ बजेसम्मको समयसीमा तोकेका छन् ।
नयाँ सरकार निर्माणका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तीन बुँदे सहमति भइसकेको छ। सोही सहमतिअनुसार अब नेकपाको नेतृत्वमा नयाँ प्रदेश सरकार गठन गर्ने तयारी थालिएको छ। नयाँ मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता खगराज भट्टको चर्चा अग्रस्थानमा रहे पनि पार्टीभित्रै भने उहाँको नामलाई लिएर विविध मतहरू कायमै रहेको बताइएको छ।

