धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पदबाट राजीनामा दिएका छन् । बिहीबार साँझ बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभामा विशेष सम्बोधन गरेलगत्तै शाहले प्रदेश प्रमुखसमक्ष पुगेर औपचारिक राजीनामा पत्र बुझाएका छन् ।
नेकपा एमालेले गत असार ३१ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अन्तिम समयसीमा पूरा भए पनि प्रदेशसभामा बहुमत जुटाउने अवस्था नरहेपछि उनले राजीनामा दिएका छन् । साँझ निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाहले आफ्नो कार्यकालमा भएका मुख्य कामहरूको समीक्षा गर्दै प्राप्त अधिकार र दायराभित्र रहेर प्रदेशको हितमा काम गरेको बताए ।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्ने भएको छ। प्रदेशमा नयाँ गठबन्धनअनुसार सरकार निर्माणका लागि नेकपा र नेकपा एमालेबिच सहमति भइसकेको बताइएको छ। सोही सहमतिबमोजिम अब नेकपाको नेतृत्वमा नयाँ प्रदेश सरकार गठनको तयारी थालिएको छ।