काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्।
उपचारका लागि गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी पत्नी आरजु राणासँगै सिंगापुर गएका देउवा बिहीबार नेपाल फर्किएका हुन्। देउवा स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थक तथा कार्यकर्ताले बाजागाजा र झाँकीसहित भव्य स्वागत गरेका छन्। कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्तासमेत देउवालाई स्वागत गर्न विमानस्थल पुगेका थिए। विमानस्थलमा भेला भएका कार्यकर्ताले देउवाको समर्थनमा नाराबाजी गर्दै उनको स्वागत गरेका थिए।