काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले जनआस्था साप्ताहिकको सानेपास्थित कार्यालयमा खानतलासी गरेको छ।
प्रहरीको टोली बिहीबार बिहान करिब ७ बजे जनआस्था कार्यालय पुगेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानका क्रममा कम्प्युटर तथा अन्य इलेक्ट्रोनिक उपकरण जाँच गर्न कार्यालयमा खानतलासी गरिएको हो।
प्रहरी टोलीका केही सदस्य कार्यालयभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए। कार्यालयमा रहेका कागजात तथा विभिन्न इलेक्ट्रोनिक उपकरणबारे प्रहरीले आवश्यक जाँच तथा संकलन गरेको जनाइएको छ।
श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको चेतावनी दिएको छ। महासंघकी अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिँदै पक्राउप्रति आपत्ति जनाएका छन्।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिवसमेत हुन्। खोजी पत्रकारितामा सक्रिय श्रेष्ठ निर्भीक पत्रकारका रूपमा परिचित छन्।