काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन्।
समाचार लेखेकै आधारमा निश्चित विधि र कानुनी प्रक्रिया नअपनाई श्रेष्ठमाथि राज्यबाट धरपकड गरिनु लोकतन्त्रकै उपहास भएको प्रचण्डको भनाइ छ।
‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो,’ प्रचण्डले भनेका छन्।
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिएका छन्।
समाचार प्रकाशनसँग जोडिएको विषयमा राज्य पक्षबाट श्रेष्ठमाथि पक्राउ तथा धरपकड गरिएको भन्दै प्रचण्डले आपत्ति जनाएका हुन्। उनले श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन्।