काठमाडौँ । सङ्घीय संसद्, सङ्घीय संसद्अन्तर्गतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनहरूमाथि छलफल हुने कार्यक्रम रहेको छ। त्यस्तै, बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेका संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ। सोही समयमा बस्ने पूर्वाधार विकास समितिको बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल हुनेछ।
यसैगरी, बिहान ११ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता’ सम्बन्धमा गहन छलफल हुनेछ। सोही समयमा तय भएको महिला तथा सामाजिक विकास समितिको बैठकमा भने राष्ट्रिय दलित आयोगको हालसम्मका कामकारबाही तथा प्रगतिका विषयमा छलफल हुने कार्यसूची रहेको छ।