विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ। एमाले र नेकपाबीच नयाँ राजनीतिक सहकार्य बनेपछि कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
पार्टी केन्द्रको निर्देशनअनुसार कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाउने भएका छन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार पार्टीको निर्णयअनुसार मन्त्रीहरूले राजीनामा दिन लागेका हुन्। कांग्रेसका मन्त्रीहरूलाई बुधबारसम्म राजीनामा दिन निर्देशन दिइएको थियो।
कांग्रेसका मन्त्रीहरूलाई बिदाइ गर्न मुख्यमन्त्री कार्कीले बुधबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
कोशी सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मनबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए।
एमाले र कांग्रेसबीच भएको सहमतिपछि २०८१ भदौ २ गते कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको थियो। त्यसपछि दोस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा २०८२ पुस २२ गते कांग्रेसका मन्त्रीहरू नियुक्त भएका थिए।
कांग्रेस सरकारबाट बाहिरिएसँगै कोशी प्रदेशमा एमाले–नेकपाबीच नयाँ राजनीतिक समीकरणअनुसार सरकार पुनर्गठन हुने भएको छ। कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि नयाँ मन्त्रिपरिषद् गठनको तयारी अघि बढ्ने बताइएको छ।