काठमाडौँ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न उठाउँदै गणनाका लागि सभामुखसमक्ष आग्रह गरेका थिए ।
सांसदले प्रश्न उठाएभन्दा पछि तीन मिनेटसम्म घण्टी बजाएर गणना गर्दा पनि कानुनबमोजिम आवश्यक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् । सभामुख अर्यालका अनुसार कुनै पनि प्रस्ताव निर्णयका लागि पेस गर्दा कम्तीमा ६९ जना सांसद उपस्थित हुनुपर्नेमा गणना गर्दा ६१ जना मात्रै उपस्थित रहेको पाइएकाले बैठक अगाडि बढाउन नसकिएको हो।
मंगलबारको बैठकमा खानीसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो। उक्त प्रस्तावमा गणपूरक संख्या पुगेको भए विधेयकमाथि सांसदहरूले संशोधन दर्ता गराउन पाउने ७२ घण्टाको समयसीमा सुरु हुने थियो। अब अर्को बैठकमा गणपूरक संख्या पुगेपछि मात्रै यो प्रस्तावमाथिको कार्यसूची अघि बढ्नेछ। प्रतिनिधिसभाको आगामी बैठक आगामी भदौ १ गतेसम्मका लागि स्थगित गरिएको छ।