काठमाडौँ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच ५ बुँदे सहमति भएको छ। प्रदेश सरकार पुनर्गठन र विस्तारमा भइरहेको ढिलाइलाई अन्त्य गर्दै प्रदेश सरकारहरूलाई पूर्णता दिनका लागि नेकपा र एमाले बिचमा ५ बँुदे सहमति भएको बताइएको छ ।
सहमतिसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले दुवै दलका प्रदेश तहलाई लिखित निर्देशन जारी गरेका छन् । शीर्ष नेताहरूले जारी गरेको संयुक्त निर्देशनमा सरकार गठन, मन्त्रालय बाँडफाँडको आधार, मन्त्रालय छनोटको प्राथमिकता क्रम, सङ्घीयता प्रवद्र्धन, प्रदेशमा राजनीतिक स्थिरता र आपसी समझदारी कायम गर्ने विषयहरू समेटिएका छन्।
निर्देशनअनुसार प्रदेशसभामा रहेका दलहरूको सिट सङ्ख्यालाई सरकार गठनको मुख्य आधार मानिएको छ। सांसद सङ्ख्याका आधारमा मन्त्रालयहरूको भागबन्डा गरिने र मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनको गणनामा समावेश गरिने उल्लेख छ।
मन्त्रालय बाँडफाँड गर्दा पालैपालो प्राथमिकताका आधारमा छनोट गरिने प्रणाली तय गरिएको छ; जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्री नभएको दलले रोज्न पाउनेछ भने दोस्रो मन्त्रालय मुख्यमन्त्री भएको दलले लिनेछ। बाँकी मन्त्रालयहरू पनि सोही क्रमअनुसार पालैपालो बाँडफाँड गरिनेछ। साथै, दुई दलको मात्र बहुमत नपुग्ने प्रदेशहरूमा तेस्रो दललाई समेत सहमतिमा ल्याएर मन्त्रालय दिई सरकार गठन गर्न ओली र दाहालले निर्देशन दिएका छन् ।