काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो मार कर्णाली र सुदूरपश्चिमका जनताले खेप्नुपरेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले प्रदेश संरचना कार्यान्वयनमा आएको नौ वर्ष पनि पूरा नहुँदै सात प्रदेशमा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन भइसकेको र ३३ जना व्यक्ति मुख्यमन्त्री बनिसकेको बताए। उनका अनुसार सातै प्रदेशमा बढीमा १४ जना मुख्यमन्त्री हुनुपर्ने अवस्थाका बाबजुद पटक–पटक सरकार परिवर्तन हुनु राजनीतिक अस्थिरताको गम्भीर उदाहरण हो। यस्तो अस्थिरता राज्यको उपस्थिति र स्थिर सरकार सबैभन्दा बढी आवश्यक पर्ने कर्णाली र सुदूरपश्चिममा देखिएको उनले बताए। ‘प्रदेश गठन भएर सञ्चालनमा आएको नौ वर्ष पनि पूरा भएको छैन। तर सात प्रदेशमा बढीमा १४ जना मुख्यमन्त्री हुनुपर्ने अवस्थामा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन भइसकेका छन् भने ३३ जना व्यक्ति उक्त पदमा पुगिसकेका छन्। अस्थिरताको सबैभन्दा चरम अभ्यास भने स्थिरता सबैभन्दा बढी आवश्यक पर्ने कर्णाली र सुदूरपश्चिममा भएको छ,’ उनले भने। खनालले देशका दुर्गम तथा विपन्न क्षेत्रका नागरिक आधारभूत आवश्यकता पूरा हुने आशामा रहे पनि प्रदेश नेतृत्व भने सत्ता जोगाउने र नयाँ राजनीतिक समीकरण बनाउनेतर्फ केन्द्रित भएको आरोप लगाए। कर्णाली र सुदूरपश्चिमका नागरिकले अझै खाद्यान्न, स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवाका लागि संघर्ष गरिरहेको उल्लेख गर्दै उनले राज्यको उपस्थिति बलियो हुनुपर्ने ठाउँमा सरकार फेरबदल र सत्ता समीकरणकै विषय प्राथमिकतामा परेको बताए। उनले हुम्लामा सुत्केरी हुन नसक्दा महिलाले बाटोमै ज्यान गुमाउनुपर्ने, जुम्लाका बालबालिका कठ्याङ्ग्रिँदो हिउँदमा समेत सामान्य चप्पल लगाएर विद्यालय जानुपर्ने र कालिकोट तथा मुगुमा चामल पुग्दा चाडपर्व नै बितिसक्ने अवस्था रहेको बताए।
‘हुम्लामा सुत्केरी हुन नसकेर एउटी आमाले बाटोमै प्राण त्याग्नुपर्ने अवस्था छ। जुम्लाका बालबालिका आज पनि हिउँदमा एक जोर चप्पलको भरमा विद्यालय जान्छन्। कालिकोट र मुगुको गोदाममा चामल पुग्दा चाडपर्व सकिसकेको हुन्छ,’ उनले भने। कर्णालीका नागरिक आधारभूत समस्यासँग जुधिरहेका बेला प्रदेश राजधानी वीरेन्द्रनगरमा भने सरकार टिकाउने र नयाँ सत्ता समीकरण बनाउने गतिविधि भइरहेको खनालको आरोप छ। उनले प्रदेश सरकारमा विश्वासको मत लिने, फ्लोर क्रस गर्ने, सांसद किनबेच भएको आरोप लाग्ने तथा सांसदलाई होटलमा राखिनेजस्ता गतिविधिले प्रदेश राजनीतिमा अस्थिरता थप बढाएको बताए। ‘कर्णालीको राजधानी वीरेन्द्रनगरमा भने अर्कै व्यथा चलिरहेको छ–विश्वासको मत, फ्लोर क्रस, सांसद किनबेचको आरोप र होटल–होटलमा सांसदको सुरक्षित बसाइँ। जनता चामल कुरेर बसिरहेका छन्, सांसदहरू भने समीकरण कुरेर बसिरहेका छन्,’ खनालले भने।