काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेछ ।
आजको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैबीच, आज दुई वटा संसदीय समितिको बैठकसमेत बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार सार्वजनिक लेखा समिति तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा घटनाका क्रममा जलेका स्रेस्तासम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ । त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । उक्त बैठकमा डिजिटल अर्थतन्त्रसम्बन्धी विषयमा छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।