काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री नियुक्त भएको करिब चार महिनापछि शाहले पहिलोपटक विदेशी राजदूतसँग एकल भेटवार्ता गर्न लागेका हुन्। यसअघि प्रधानमन्त्री शाहले राजदूतहरूसँग व्यक्तिगत भेट नगर्ने अडान राख्दै सामूहिक भेटवार्तालाई प्राथमिकता दिँदै आएका थिए। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार आज भारत र चीनका राजदूतसँग भेटवार्ताको कार्यक्रम तय भएको छ। भेटको निश्चित समय भने सार्वजनिक गरिएको छैन। कार्यक्रमअनुसार प्रधानमन्त्री शाहले पहिले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्नेछन्।
त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, प्रधानमन्त्री शाहले भोलि नेपालका लागि अमेरिकी राजदूतसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको स्रोतले जनाएको छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार यी भेटवार्ताको तयारी केही साताअघि नै गरिएको थियो। तर, बीचमा सुनसरीमा भएको घटनाका कारण भेटवार्ता केही समयका लागि ढिला भएको बताइएको छ।