सिरहा । सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले घर बनाइदिने भएको छ। मधेस प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’अन्तर्गत मृतक यादवको परिवारका लागि दुई कोठे भवन, भान्सा (किचेन) र शौचालय निर्माण गरिदिने निर्णय भएको हो।
यस सम्बन्धमा मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच शुक्रबार औपचारिक सहमति भएको छ। सहमति पत्रमा मृतकका बुवा रामबृक्ष यादव, भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादव तथा स्थानीय समाजसेवी र अगुवाहरूको उपस्थितिमा हस्ताक्षर गरिएको हो।
घटनालगत्तै पीडित परिवारलाई भेट्न पुगेका मन्त्री सिंहले उनीहरूको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै घर निर्माण गरी राज्यको उपस्थिति देखाउनुपर्ने प्रस्ताव प्रदेश सरकारको बैठकमा लगेका थिए। परिवारले जग्गा उपलब्ध गराउनेबित्तिकै निर्माण कार्य तुरुन्त प्रारम्भ गरिने मन्त्री सिंहले जानकारी दिएका छन्।
प्रदेश सरकारले यस आवास निर्माणका लागि बजेटसमेत विनियोजन गरिसकेको छ। पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादवका अनुसार मृतक गणेशका बुवा रामवृक्ष यादवका लागि रंगरोगनसहितको दुई कोठे भवन, किचेन र शौचालय निर्माण गर्न ५ लाख ४६ हजार रुपैयाँ बजेट छुट्याइएको छ। यो निर्माण कार्य चालु आर्थिक वर्ष २०८३÷०८४ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।