काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरको योजना रोकिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले २०७७ सालदेखि विभिन्न सरकारले उक्त ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढाएको, त्यसका लागि बजेटसमेत विनियोजन भइसकेको र चार बिघा जग्गा अधिग्रहणसमेत सम्पन्न भएको स्मरण गराए। बजेट वक्तव्यमा मधेश प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने प्रतिबद्धता जनाइए पनि हालै स्वास्थ्यमन्त्रीले ढल्केबरको नाम उल्लेख नगरी अर्को स्थानको चर्चा गरेको भन्दै यादवले सरकारको निर्णयप्रति आपत्ति जनाए। अन्यत्र ट्रमा सेन्टर स्थापना भए पनि ढल्केबरको योजना किन अलपत्र पारियो भन्ने आफ्नो जिज्ञासा रहेको उनले बताए।
उनका अनुसार पूर्व–पश्चिम राजमार्ग, काठमाडौँ–जनकपुर सडक र बीपी राजमार्गको संगमस्थल भएकाले ढल्केबर दुर्घटनाका बिरामीका लागि रणनीतिक र वैज्ञानिक रूपमा उपयुक्त स्थान हो। धनुषा, महोत्तरी, सर्लाही र रौतहटका करिब ३० लाख नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा दिन पनि यही स्थान प्रभावकारी हुने उनको भनाइ थियो। सांसद यादवले विकासका योजनामा नीतिगत निरन्तरता कायम हुनुपर्ने उल्लेख गर्दै सरकारले राजनीतिक आधारमा निर्णय परिवर्तन गरे जनतामा राज्यप्रतिको विश्वास कमजोर हुने चेतावनी दिए। साथै, मधेश प्रदेशमा हालैको तनावपछि अवस्था सामान्य बन्दै गइरहेका बेला यस्ता निर्णयले पुनः असन्तुष्टि बढाउन सक्ने भन्दै ढल्केबरमै ट्रमा सेन्टर निर्माणको निर्णय कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।