काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि तथा प्रणालीबारे जानकारी गराउँदै नमुना ‘ड्र’ प्रणालीसमेत प्रस्तुत गरेको थियो।
विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो उपहार घोषणा शुक्रबार गरिनेछ। साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा खरिद गरी विभागको वेबसाइटमा भ्याट वा प्यान बिल अपलोड गरेका उपभोक्ताहरू यसमा सहभागी हुन पाउनेछन्।
विभागका अनुसार साउन १ देखि १५ गतेसम्मको प्रत्येक दिनको कारोबारका आधारमा १५ जना उपभोक्ताले करकट्टीपश्चात् जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
यसका साथै, सोही अवधिमा वस्तु तथा सेवा खरिद गर्ने सबै योग्य उपभोक्तामध्येबाट भाग्यशाली एक जनालाई १० लाख रुपैयाँको बम्पर नगद उपहार प्रदान गरिनेछ। बम्पर उपहार रकममा भने प्रचलित कानुनअनुसार कर लाग्ने विभागले स्पष्ट पारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले यो उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।
करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि प्रत्येक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको कारोबारका लागि) र महिनाको अन्तिम दिन (१६ गतेदेखि मसान्तसम्मको कारोबारका लागि) नियमित रूपमा उपहार घोषणा गरिनेछ।
बैंक वा डिजिटल वालेटको क्युआर मार्फत भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताहरू स्वतः यस कार्यक्रममा सहभागी हुनेछन्। तर, पछि पुरस्कार दाबी गर्नका लागि खरिदको बिल भने अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ।
यस्तै, नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गर्नुपर्नेछ। बिल अपलोड गरेपछि प्राप्त हुने कुपनमार्फत उनीहरू उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ।