काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दै छ। आजको बैठकमा सरकारका तर्फबाट चारवटा महत्वपूर्ण विधेयक पेस गर्नेसहित एक संसदीय समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
संसद् सचिवालयले दिएको जानकारीअनुसार आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम छ।
आजको प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयक संशोधन तथा पेस गर्ने कार्यसूची रहेको छ । जसमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनसमक्ष प्रस्तुत गर्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको ससद् सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ।
प्रतिनिधिसभाको पूर्ण बैठकका अलावा आज संसद्का तीनवटा विषयगत समितिका बैठकहरू पनि बस्दै छन्।
बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा विषय विज्ञहरूसँग छलफल गर्ने कार्यसूची छ। सोही समयमा बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन, २०८३’ पेस गरी छलफल गरिनेछ।
यसैगरी, बिहान १० बजे नै बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा विद्युत्को वितरण लाइन र पोलहरू बेलैमा व्यवस्थापन हुन नसक्दा सडक निर्माण कार्यमा भइरहेको ढिलाइका विषयमा सरोकारवालाहरूसँग छलफल हुनेछ।