काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ।
सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार पहिलो उपहार कार्यक्रमको घोषणा शुक्रबार गरिनेछ।
महानिर्देशक भुसालका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइन वा क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा कारोबार गरी विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताहरू यो कार्यक्रममा सहभागी हुन पाउनेछन्। साउन १ देखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर जनही १–१ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
त्यस्तै, सोही अवधिभित्र वस्तु तथा सेवा खरिद गर्ने सम्पूर्ण उपभोक्ताहरूमध्येबाट एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँ नगद बम्पर पुरस्कार जित्नेछन् (यो रकममा नियमअनुसार कर लाग्नेछ)।
कसरी सहभागी हुने?
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार तयार पारिएको कार्यविधिबमोजिम अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि मसान्तसम्मको कारोबार) का आधारमा नियमित रूपमा उपहार घोषणा गरिनेछ।
बैंक तथा वालेटको क्युआर कोडमार्फत भुक्तानी गरी सामान खरिद गर्ने उपभोक्ताहरू यो प्रणालीमा स्वतः जोडिने छन्। तर, पछि पुरस्कार दाबी गर्नका लागि खरिद गरिएको बिल अनिवार्य रूपमा सुरक्षित हुनुपर्नेछ।
यस्तै, नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने अनिवार्य रूपमा वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी उपहार कुपन प्राप्त गर्नुपर्ने व्यवस्था मिलाइएको छ।