काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला र पुरुषबीच विभाजन सिर्जना गर्ने वा प्रचारमुखी कार्यक्रम नभएको बताएकी छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाहरूले भोग्दै आएका सुरक्षा जोखिमलाई तत्काल सम्बोधन गर्ने उद्देश्यसहित यो आवश्यक पहल अघि सारिएको बताएकी छन् ।
सार्वजनिक यातायातमा महिलाविरुद्ध हुने यौनजन्य दुव्र्यवहार, असुरक्षा, अत्यधिक भीडभाड तथा अन्य व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै ‘ब्लु बस’ सेवा सञ्चालन गर्न लागिएको उनको भनाइ छ। यस सेवाले विद्यमान सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन नगर्ने र महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्न कुनै प्रतिबन्ध नलगाइने उनले बताईन् ।
समानताको अर्थ सबै नागरिकलाई एउटै व्यवहार गर्नु मात्र नभई विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार विशेष संरक्षण, सुविधा र अवसर उपलब्ध गराउनु पनि भएको उल्लेख गर्दै यही संवैधानिक तथा नीतिगत मान्यताअनुरूप ‘ब्लु बस’ अघि बढाइएको बताएकी छन् ।
विशेषगरी गर्भवती महिला, साना बालबालिकासहित यात्रा गर्ने आमा, ज्येष्ठ महिला र अपाङ्गता भएका महिलाले भीडभाडयुक्त सवारीमा थप कठिनाइ भोग्ने भएकाले उनीहरूको सुरक्षित आवागमन तथा शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच सुनिश्चित गर्न यो सेवा आवश्यक रहेको बताएकी छन् ।