काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान अझै जारी रहेको बताएका छन्। उनले संवेदनशील विषयलाई पटक–पटक संसद्मा उठाउँदा पीडित परिवारको पीडा झन् बढ्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताएका हुन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्याकाण्डमा न्याय नपाएको विषय उठाएपछि जवाफ दिँदै गृहमन्त्री गुरुङले हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान कानुनी प्रक्रियाअनुसार भइरहेको बताए। उनले आफूहरू शान्ति सुरक्षा कायम गर्न निरन्तर काम गरिरहेको उल्लेख गर्दै, विगतमा सरकारमा रहेकाहरूले पनि यो विषयमा के गरे भन्ने प्रश्न उठाए। अनुसन्धान प्रभावित हुने भएकाले यसबारे धेरै टिप्पणी नगर्ने तर प्रक्रिया जारी रहेको उनको भनाइ थियो।
गृहमन्त्री गुरुङले प्रतिनिधिसभा र राष्ट्रिय सभामा यही विषय पटक–पटक नउठाउन आग्रह गर्दै पूरक प्रश्नको जवाफ दिन अस्वीकार गरे। बैठकमा उनले आत्महत्या रोकथामका लागि सरकारले गरिरहेका प्रयासबारे पनि जानकारी दिए। मानसिक स्वास्थ्य समस्या र युवामा बढ्दो निराशा चुनौती बन्दै गएको उल्लेख गर्दै उनले तीनै तहका सरकारबीच समन्वय गरेर विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए। उनका अनुसार आत्महत्या रोकथामका लागि २४सै घण्टा सञ्चालन हुने (११६६) हेल्पलाइन सेवा पनि सञ्चालनमा छ, जहाँ आवश्यक परामर्श लिन सकिने व्यवस्था गरिएको छ। युवालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जीवनका कठिन परिस्थितिसँग नआत्तिन र संघर्ष गर्दै अघि बढ्न आग्रह गरे।