काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलन एवम् अद्यावधिक गर्ने कार्यमा आवश्यक सहयोग र सहजीकरण गर्न देशैभरका स्थानीय तहहरूलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार ७५३ वटै गाउँपालिका र नगरपालिकालाई औपचारिक पत्राचार गर्दै सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूलाई मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्यमा पूर्ण सहयोग, समन्वय र सहजीकरण गरिदिन निर्देशन दिएको हो।
निर्वाचन आयोगले साउन १५ गते बसेको बैठकबाट मतदाता नामावली विस्तृत रूपमा अद्यावधिक गर्ने र त्यसका लागि वडास्तरमै कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिसकेको छ। यो अभियानका क्रममा वडाका स्थानीय पञ्जिकाधिकारीहरूसँग प्रत्यक्ष समन्वय गरी विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताहरूको विवरण साविकको नामावलीसँग भिडाई अद्यावधिक गरिनेछ।
यो सम्पूर्ण कार्य सम्पन्न गर्न आगामी भदौ १५ गतेसम्मको समयसीमा तय गरिएको छ। आयोगको सोही निर्णय र आग्रहबमोजिम मन्त्रालयले स्थानीय तहहरूलाई आवश्यक स्रोत, साधन र जनशक्तिमार्फत सहजीकरण गर्न पत्राचार गरेको हो।