काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको छ। त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको जनाएको छ ।
बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
राष्ट्रियसभाको बैठकका अलावा आजै विभिन्न पाँचवटा संसदीय समितिका बैठकहरूसमेत बस्दैछन्। बिहान १० बजे बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुँदैछ। यस्तै, बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम रहेको छ भने सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको काम कारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुनेछ।
यसैगरी, अपराह्न १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल हुनुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गरिनेछ। अपराह्न २ः३० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा भने मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा व्यापक छलफल हुने संसद् सचिवालयले जनाएको छ।