काठमाडौँ । सुनसरी घटनाको असरस्वरूप सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गणेश यादवको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी काठमाडौँ फर्किएको छ।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा खटिएको टोलीले तीन दिनसम्म सिरहामा बसेर स्थलगत निरीक्षण, तथ्य तथा प्रमाण सङ्कलन र सरोकारवालाहरूसँग चरणबद्ध छलफल पूरा गरेको हो।
गृह मन्त्रालयका उपसचिव एवम् समितिका सदस्यसचिव कुलशेखर अर्यालका अनुसार टोलीले सोमबार घटनास्थलको प्रत्यक्ष निरीक्षण गरेको थियो। मंगलबार गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित सर्वदलीय बैठकमा सहभागी भई विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, स्थानीय समुदाय, प्रत्यक्षदर्शी, सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीसँग आवश्यक जानकारी र सुझाव सङ्कलन गरिएको छ।
छानबिन टोलीले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई भेट्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेर स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएको छ। उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै अर्यालले घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र दुई–तीन दिनभित्र डिस्चार्ज हुने जानकारी दिए ।
सिरहामा आवश्यक सम्पूर्ण प्रमाण र तथ्य सङ्कलनको काम सकिएकाले उच्चस्तरीय समितिले तोकिएको समयसीमाभित्रै गृह मन्त्रालयसमक्ष विस्तृत प्रतिवेदन पेस गर्ने तयारी गरिरहेको छ। प्रतिवेदनका आधारमा घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।