काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेका डा. धवल शमशेर जबरा र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन्। उनीहरूले नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ तय गरेका हुन्।
दुई नेताबिच भएको सहमतिअनुसार नयाँ दलको सभापतिमा डा. धवल शमशेर जबरा र सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहनेछन्।
लामो समयदेखि छुट्टाछुट्टै अभियान र राजनीतिक गतिविधि चलाउँदै आएका राणा र प्रसाईंले पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै नयाँ शक्ति निर्माण गरेका हुन्।
नयाँ राजनीतिक दल दर्ताका लागि उनीहरू आगामी साउन २८ गते आवश्यक कागजातसहित निर्वाचन आयोगमा निवेदन दिन जाने तयारी गरिरहेको जनाइएको छ। देशमा विद्यमान निराशा र अन्योलको अन्त्य गर्दै नयाँ वैकल्पिक राजनीतिक बाटो तय गर्ने उद्देश्यका साथ पार्टी गठन गरिएको बताइएको छ।