काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकार गठन वा फेरबदलसँग जोडिएको सत्ता समीकरणको राजनीतिक खेलमा सहभागी नहुने निर्णय गरेको छ।
बुधबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारको अंकगणितमा राप्रपा नजोडिने निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकार गठन वा परिवर्तनका लागि भइरहेका शक्ति–समीकरणमा राप्रपा सहभागी नहुने स्पष्ट पारे।
उनका अनुसार प्रदेश सरकार गठनको जिम्मेवारी मुख्य राजनीतिक दलहरूले नै लिनुपर्ने र नेपाली कांग्रेस, नेकपा एमाले तथा अन्य कम्युनिस्ट शक्तिहरूले आवश्यक सहमति गरेर सरकार निर्माण गर्नुपर्ने पार्टीको धारणा छ।
अध्यक्ष लिङ्देनले केही प्रदेशमा सरकार परिवर्तनबारे विभिन्न तहमा छलफल चलिरहेको भए पनि त्यसमा राप्रपाको कुनै संलग्नता नरहेको बताए। उनले सत्ता समीकरणमा सहभागी हुने कुनै रुचि वा प्रयास पनि पार्टीको नरहेको उल्लेख गरे।
राप्रपाले प्रदेश सरकारको राजनीतिक अंकगणितभन्दा आफ्नो स्वतन्त्र राजनीतिक भूमिका र नीतिगत एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरेको जनाएको छ।