काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले नैतिक तथा राजनीतिक संकटबाट बाहिरिने उपाय खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने प्रयास गरिरहेको आरोप लगाएको छ।
बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारले जनविश्वास गुमाउँदै जाँदा त्यसको समाधान गर्नुभन्दा नयाँ–नयाँ विषय अघि सारेर मूल समस्याबाट ध्यान हटाउन खोजेको बताए।
उनका अनुसार सरकार अहिले सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग सम्बन्धित मूल मुद्दाबाट जनताको ध्यान मोड्ने रणनीतिमा लागेको देखिन्छ। यस्ता विषय समय वा राजनीतिक घटनाक्रमले ओझेलमा पार्न नसक्ने उनको भनाइ थियो।
कांग्रेसले सरकार अस्थिर होस् भन्ने आफ्नो उद्देश्य नभएको स्पष्ट गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर बन्नुपर्ने धारणा दोहोर्याएको छ।
प्रवक्ता चालिसेले कुनै पनि राजनीतिक दलको आन्तरिक मामिलामा टिप्पणी गर्ने नीति कांग्रेसको नभएको उल्लेख गर्दै सरकारका गतिविधिका कारण लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेमा भने मौन बस्न नसकिने बताए।
उनले पछिल्ला राजनीतिक घटनाक्रमले सत्तामा पुगेका दलहरू सधैं संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक मूल्यमान्यताप्रति समान रूपमा प्रतिबद्ध रहन्छन् भन्ने सुनिश्चितता नदेखिएको टिप्पणी गर्दै लोकतन्त्रप्रतिको विश्वास व्यवहारबाट प्रमाणित हुनुपर्ने धारणा व्यक्त गरे।