काठमाडौं । गोकर्णेश्वरस्थित नेपाल ट्रस्टको जग्गामा सडक विस्तारका क्रममा नेपाली सेनाका अधिकारीसँग उत्पन्न विवादका विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गर्दै रास्वपाका सांसद राजुनाथ पाण्डेलाई सचेत गराएको छ।
गोकर्ण वन क्षेत्र नजिकै रहेको पर्खाल हटाउन डोजरसहित पुगेका सांसद पाण्डे र नेपाली सेनाका कप्तान अनुपमान श्रेष्ठबीच भएको बाझाबाझप्रति प्रधानमन्त्री बालेन्द्र शाह असन्तुष्ट बनेपछि सचिवालयले उनलाई बोलाएर सचेत गराएको हो।
मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका पाण्डेलाई सचिवालयका सदस्यहरूले प्रधानमन्त्री वा सरकारको नाम जोडेर कुनै पनि स्थानमा विवाद वा असहज परिस्थिति सिर्जना नगर्न कडा निर्देशन दिएका छन्।
प्रधानमन्त्री कार्यालयको उक्त निर्देशन लगत्तै सांसद पाण्डेले औपचारिक स्पष्टीकरण वक्तव्य जारी गरेका छन्। वक्तव्यमा उनले सडक विस्तारको कार्य सम्पन्न गर्ने क्रममा सेनाको सम्बन्धित टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ भएकाले सुरुमा केही असहजता देखिए पनि पछि सेनाकै पूर्ण सहकार्य र समन्वयमा पर्खाल हटाउने काम सफलतापूर्वक सम्पन्न भएको दाबी गरेका छन्।