काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भदौ १ गतेदेखि ‘उम्मेदवार क्लब’ सञ्चालनमा ल्याउने भएको छ।
स्थानीय तहका सम्भावित उम्मेदवार छनोट, तयारी र प्रशिक्षणलाई व्यवस्थित बनाउन पार्टीले यो अवधारणा कार्यान्वयन गर्न लागेको हो।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार उम्मेदवार क्लबमार्फत देशभरका स्थानीय तहका सम्भावित उम्मेदवारको विवरण संकलन गरी उनीहरूलाई आवश्यक प्रशिक्षण दिइनेछ।
उनका अनुसार वडा अध्यक्ष, गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलगायतका पदमा चुनाव लड्न इच्छुक व्यक्तिले उम्मेदवार क्लबमा नाम दर्ता गर्न सक्नेछन्।
पार्टीले क्लबमा आबद्ध हुने सम्भावित उम्मेदवारलाई निर्वाचित भएपछि निर्वाह गर्नुपर्ने जिम्मेवारी, सुशासन, नेतृत्व विकास र स्थानीय सरकार सञ्चालनसम्बन्धी विषयमा प्रशिक्षण दिने तयारी गरेको जनाएको छ। साथै, उम्मेदवार बन्न इच्छुक व्यक्तिले निर्वाचित भएमा आफूले गर्ने कामको योजना पनि पार्टीसमक्ष प्रस्तुत गर्नुपर्ने व्यवस्था रहनेछ।
रास्वपाले उम्मेदवार क्लबको अवधारणा पहिलो पटक २०८० मंसिरमा महोत्तरीमा सम्पन्न केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकमा अघि सारेको थियो। त्यसयता पार्टीका विभिन्न नीतिगत दस्तावेजमा यो अवधारणालाई समेटिँदै आएको छ।
पार्टीका अनुसार उम्मेदवार क्लब स्थानीय तह निर्वाचनका लागि सक्षम, तयारी अवस्थामा रहेका र नीतिगत रूपमा प्रशिक्षित उम्मेदवार उत्पादन गर्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको हो।