काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२ को छैटौँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि पनि छलफल हुनेछ। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको सुरक्षित आवास, आधारभूत सेवा, शिक्षा, स्वास्थ्य, खाद्य तथा जीविकोपार्जनको सुनिश्चितता गर्नुपर्ने, उचित क्षतिपूर्ति र स्थायी पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने तथा वास्तविक भूमिहीन र सुकुमवासीलाई यथाशीघ्र लालपूर्जा वितरण गर्न सरकारलाई आग्रह गरिएको छ। उक्त प्रस्तावमा सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई समर्थक छन्। आज प्रतिनिधिसभासँगै पाँचवटा संसदीय समितिका बैठक पनि बस्नेछन्। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक तय भएका छन्।
बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयक माथि दफावार छलफललाई निरन्तरता दिइनेछ। अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्नेछ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची तय गरेको छ। यस्तै, बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनःस्थापना गर्ने सम्बन्धी विधेयक, २०८३ माथि सैद्धान्तिक तथा दफावार छलफल हुनेछ। साथै, कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि पनि विचार-विमर्श गरिनेछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासन कार्यान्वयनसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।