काठमाडौं । नेकपा (एमाले) भित्र कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई छलफलका लागि काठमाडौं बोलाएका छन्।
पार्टी महासचिव शंकर पोखरेलमार्फत अध्यक्ष ओलीको सन्देश पाएपछि मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं पुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
मुख्यमन्त्रीनिकट स्रोतका अनुसार अध्यक्ष ओली, महासचिव पोखरेलसहित शीर्ष नेताहरूबीच हुने छलफलले कोशी प्रदेश सरकारको नेतृत्वबारे अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ। सोही छलफलपछि कार्की मुख्यमन्त्रीमै निरन्तर रहने वा नेतृत्व परिवर्तन हुने विषय टुंगिने बताइएको छ।
पार्टीभित्र अध्यक्ष ओली कोशी प्रदेशको नेतृत्व परिवर्तन गर्दै संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा रहेको चर्चा छ। तर मुख्यमन्त्री कार्की भने राजीनामा नदिने अडानमा कायम छन्। उनले व्यक्तिगत निर्देशनभन्दा पार्टीको संस्थागत निर्णयलाई मात्र स्वीकार गर्ने बताउँदै आएका छन्।
सोमबार विराटनगरस्थित एमाले प्रदेश कार्यालयमा संसदीय दल र प्रदेश नेतृत्वसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले अध्यक्ष ओलीबाट आफूलाई पद छाड्न कुनै प्रत्यक्ष निर्देशन नआएको बताएका थिए।
उनले आफू संविधानको धारा १६८ को उपधारा (५) बमोजिम प्रदेश सभाको बहुमतको विश्वासका आधारमा मुख्यमन्त्री बनेको उल्लेख गर्दै सरकार संवैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने बताएका छन्।