काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित दलित समुदायका विद्यार्थीका लागि निर्माण गरिएको छात्रावासमा भएको सरकारी लगानी प्रभावकारी रूपमा उपयोग हुन नसकेको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा छानबिनको माग गरेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले छानबिनको माग गरेका छन् ।
उनले उक्त छात्रावास निर्माणमा लाखौंदेखि करोडौं रुपैयाँसम्म सरकारी लगानी भए पनि संरचना हालसम्म प्रयोगविहीन अवस्थामा रहेको दाबी गरे । छात्रावास अहिले पनि खण्डहरजस्तै अवस्थामा रहेको र त्यसबाट लक्षित समुदायले लाभ लिन नसकेको उनको भनाइ थियो ।
उनले भने, ‘सुर्खेतको वीरेन्द्रनगर बसपार्क पछाडि दलित समुदायका विद्यार्थीलाई अध्ययनका लागि बसोबास गराउने उद्देश्यले सरकारले एउटा छात्रावासमा लगानी गरेको थियो । तर त्यस छात्रावासमा लगानी गरिएको लाखौं–करोडौं रुपैयाँ खेर गएको छ । उक्त संरचना अहिले पनि खण्डहरकै अवस्थामा छ । केही पनि सम्पन्न भएको छैन । बालबालिका, दलित, महिला र ज्येष्ठ नागरिकका नाममा राज्यको करोडौं रुपैयाँ डुबेको छ । सचिवज्यू यहाँ उपस्थित हुनुहुन्छ, उहाँलाई पनि यो विषय स्पष्ट छ। तर यो विषय सार्वजनिक लेखा समितिमा आइसकेपछि समितिले सुनपानी छर्किएर चोख्याएर पठाउने काम गर्नु हुँदैन । यसमा तत्काल आवश्यक प्रक्रिया अघि बढाउनुपर्छ । सार्वजनिक हितसँग सम्बन्धित कार्यक्रमका विषयमा प्रभावकारी कारबाही हुनुपर्छ ।’
सांसद सुनारले बालबालिका, दलित, महिला तथा ज्येष्ठ नागरिकका नाममा सञ्चालन गरिएका कार्यक्रम र संरचनामा राज्यको ठूलो रकम दुरुपयोग भएको आरोप लगाउँदै यस्ता विषयमा सार्वजनिक लेखा समितिले निष्पक्ष रूपमा छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
बैठकमा सम्बन्धित मन्त्रालयका सचिव उपस्थित रहेको उल्लेख गर्दै उनले समितिले उजुरीलाई सामान्य रूपमा टुंग्याउने वा जिम्मेवारीबाट उन्मुक्ति दिने काम गर्नु नहुने धारणा व्यक्त गरे । उनले सार्वजनिक हितसँग जोडिएका यस्ता विषयमा तत्काल आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरे ।